Voice of Chairman

You Are Here: Home » About Us » Voice of Chairman

VC

अध्यक्षको भनाइ (Voice of Chairman)

नेपालको इतिहासमा नेपालको सहकारी अभियानले उच्चतम उपलब्धि प्राप्त गर्न सफल भएको छ। संख्यात्मक हिसाबले ३४,५१२ सहकारीहरु मध्ये १३,५७८ बचत तथा ऋण सहकारी संस्थाहरु चलायमान छन्। समग्र सहकारी अभियानमा ६३,०५,५८१ सदस्यहरुले प्रत्यक्ष लाभ लिइरहेका छन् भने २,४७,८२७ सञ्चालक र १०,३५६ लेखा समिति अप्रत्यक्ष रुपमा सहकारीमा संलग्न भई अभियानलाई सहयोग पुर्‍याइरहेका छन्। त्यस्तै गरी राज्यलाई विभिन्न शीर्षकमा कर भुक्तानी गरी सहकारीले अहम भूमिका निर्वाह गरेको छ।

यसै सन्दर्भमा यस डाँफे बचत तथा ऋण सहकारी संस्थाले यस आ.व.मा विभिन्न शीर्षकमा गरी रु. ३०,६९,४३६।– कर राज्यलाई बुझाई सहयोग गरेको छ भने नेपालको सहकारी अभियानलाई सार्थकता दिलाउन अहम भूमिका निर्वाह गरेको छ।

मिति २०७५ साल जेठ २४ र २५ गते काठमाण्डौमा सम्पन्न भएको तेस्रो साकोस शिखर गोष्ठीमा म लगायत संस्थाका सचिव सहभागी भएका थियौँ। साथै हालै सम्पन्न नेपाल–बंगलादेश सहकारी सद्भाव भ्रमणमा प्रारम्भिक संस्था डाँफे बचत तथा ऋण सहकारी संस्था लि., जिल्ला बचत तथा ऋण सहकारी संघ झापा हुँदै सिंगो प्रदेश नं. १ को प्रतिनिधित्व गर्दै मिति २०७५/०४/१६ गतेदेखि २२ गतेसम्मको सद्भाव सहकारी भ्रमणमा सहभागी हुने अवसर प्राप्त भयो।

उक्त भ्रमणबाट प्राप्त भएका ज्ञान र दक्षतालाई यस संस्थाको हित र विकासमा प्रयोग गर्ने प्रण गर्दछु। उक्त अवसर प्रदान गर्नु हुने जिल्ला बचत तथा ऋण सहकारी संघ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनलाई विशेष धन्यवाद दिन चाहन्छु।

हामी हाम्रो संस्थालाई सहकारीको मूल्य, मान्यता र सिद्धान्तका आधारमा विकास गरेर लगिरहेका छौँ। सहकारी जहिले पनि सदस्यमुखी हुनुपर्दछ। सदस्यको हरेक आर्थिक, सामाजिक र सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुनुपर्दछ। हामीले सूचना पाए अनुसार सदस्यहरुको सुख–दुःखमा हरसम्भव साथ दिने प्रयत्न गरेका छौँ।

विगतमा सदस्यहरुको मृत्युमा मात्र समवेदना तथा राहत लिइ जाने प्रचलनलाई यस आ.व.बाट सदस्यका बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी, सासु, ससुराहरुको दुःखमा पनि समवेदना सहित उपस्थिति जनाउने नीति अवलम्बन गरिएको छ। साथै विवाह, व्रतबन्ध जस्ता अन्य पर्वहरुमा सदस्यहरुको निमन्त्रणालाई स्वीकार्ने उद्देश्यका साथ स्थानीय स्तरमै डाँफे क्लब गठन गरी परिचालन गर्ने नीति अवलम्बन गरिएको छ।

१२ औँ स्थापना दिवसको अवसरमा घोषणा गरे अनुसार मिति २०७५/०३/२१ देखि संस्थाको दैनिक कारोबारलाई सदस्यद्वारा उद्घाटन गराई शुभारम्भ गर्न थालिएको छ। सोही अवसरमा संस्थासँग बचत कारोबार गर्ने सदस्यहरु मध्ये उत्कृष्ट बचत कारोबार गर्ने सदस्यलाई मासिक रुपमा सम्मान गर्ने नीति अवलम्बन गरिएको छ।

Scroll to Top